FAQs Complain Problems

समाचार

महानगर समाचार

चुनावमा राजनीति दलको झण्डा बोके पनि अन्य समयमा विकासको झण्डा बोकौं — मेयर शाक्य

काठमाडौंं । काठमाडौं महानगरको वडा ३१ एउटै वडामा चालु आर्थिक बर्षमा करीव ६१ करोड रुपैयाँमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसमा संघ सरकारको ४८ करोड, प्रदेश सरकारको १० करोड र महानगरको ३ करोड रुपैयाँ बजेट छ । शुक्रबार वडा विकासको बार्षिक समीक्षा, रणनीतिक कार्ययोजना तथा बिज्ञसमूह गठन सम्बन्धि कार्यक्रममा वडाको पूर्वाधार निर्माणको एकीकृत योजनाका विषयमा प्रदेश सभा संसद गणेश दुलालले यस्तो जानकारी दिनुभएको हो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरले सहरी व्यवस्थापनका लागि सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाउँदै लगेको र समृद्धिका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । यो बर्ष महानगरको पूर्वाधार बर्ष हो । हामी गुणस्तरीय पूर्वाधारबाट समृद्धि र जीवनयापन पद्धतिमा सुधार गरिरहेका छौं तर केहीले अल्मल्याउन खोजिरहनु भएको छ । यसमा सचेत भएर अघि बढिरहेका छौं । मेयर शाक्यले, राजधानी सहर व्यवस्थापन गर्न आफूसँग योजना पनि भएको, पैसा पनि भएको बताउँदै सबै मिलेर काम गर्ने संस्कृति नभएकोले असजिलो व्यहार्नुपरेको अनुभव सुनाउनुभयो । म महानगरबासीको शिर झुक्ने काम गर्दिन, त्यसैले आलोचनालाई पनि सुझावका रुपमा लिएको छु, मेयर शाक्यको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य गणेश दुलालले वडाभित्र रहेको ५५ रोपनी साविक ट्रलीबस सञ्चालन भएको जमिनलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नुपर्ने बताउँदै अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र आसपासका क्षेत्रको सवारी आवागमन व्यवस्थापनलाई दृष्टिगत गरेर नगर विकास कोषसँगको सहकार्यमा लिफ्ट पार्किङ्को डिपिआरको काम भइरहेको बताउनुभयो । बाग्मती कोरिडोर खोल्न सकुम्बासी समस्या समाधान गर्नु पर्ने प्रसङ्ग उल्लेख गर्दै उहाँले — बडा भएर बग्ने बाग्मती नदी किनारामा ४७५ घर रहेको, तीमध्ये ११५ घर बनाउने धनी आफ्नै घरमा बसेर त्यहाँ अरुलाई भाडामा दिएको, ८६ घरधुरी निर्माण गरेर १५ लाख रुपैयाँसम्मा विक्री भएको तथ्याङ्क उल्लेख गर्दै वास्तविक सकुम्बासी ५ प्रतिशत भएको र तिनलाई महानगरकै प्रयासमा व्यवस्थापन गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्ने क्रममा प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ्ले — नागरिकबाट आएका सवाल र जिज्ञासाको जवाफ दिएर भन्दा विकास गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गरेर अगाडि बढ्ने बताउनुभयो । समस्या साझा हुन्, तिनलाई साझा सोचबाट व्यवस्थापन गरौं, उहाँको भनाइ थियो ।

कार्यक्रममा वडाध्यक्ष नारायण भण्डारीले — आउँदो असारमसान्तपछि कोही पनि नागरिकले हिलो धुलो कुल्चिएर घरमा प्रवेश गर्नु नपर्ने गरी सडकमा कालोपत्रे गर्ने र ढुङ्गा छाप्ने काम भइरहेको बताउनुभयो । फोहोरमैला व्यवस्थापनलगायत जनताको सहभागिता हुने केही कार्यक्रम छन् त्यसका लागि आफूले पूर्वाधार तयार गरी नसकेकोले प्रस्ताव ल्याउन सकिएको छैन । पूर्वाधार तयार भएपछि अभियान सञ्चालन प्रस्ताव अघि सार्ने वडाध्यक्ष भण्डारीको भनाइ थियो । समीक्षा कार्यक्रममा वडा सचिव सुरेश साहुले गएको बर्ष र चालु आर्थिक बर्षको सम्पन्न अवधिमा भौतिक पूर्वाधार तथा विकास, राजस्व संकलनलगायतका क्षेत्रमा भएका कामको प्रगति प्रस्तुत गर्नुभएको थियो ।

महानगरको ३१ वडा, प्रदेश निर्वाचन क्षेत्रका दृष्टिले नेपालकै एक वडा एक निर्वाचन क्षेत्र भएको वडा हो । उच्च जनघनत्व भएको यस वडाको सिमाना पूर्वमा बागमती नदी, पश्चिममा देवकोटा सडक, उत्तरमा बाबुराम आचार्य सडक र दक्षिणमा ललितपुर महानगरपालिका पर्छ । २३२.१ हेक्टर जमिन क्षेत्रफलमा फैलिएको वडामा करीब १ लाखभन्दा बढी जनसंख्या छ भने १५ हजार घरधुरी छन् । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नेपालकै एक मात्र निजामति सेवा अस्पताल यसै वडामा हुनुले वडाको गरिमा बढाएको छ ।

वडामा जनप्रतिनिधि आइसकेपछि अहिलेसम्ममा पूर्वाधारतर्फ ५० वटा योजना सम्पन्न भइसकेका छन् । गएको बर्ष ६ करोड ६ लाख ५ ह्ज्ँर २६८ रुपैयाँ नौ पैसा राजस्व संकलन गरेको वडाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ३ करोड ६० लाख ४३ हजार २९ रुपैयाँ ८० पैसा राजस्व संकलन गरिसकेको छ ।

वडाको विज्ञ समूह

आफ्नो क्षेत्रको भौतिक तथा सामाजिक समृद्धिका लागि वडा ३१ ले पछि आउने नाम समेट्ने गरी ७ जना विज्ञको नाम प्रस्ताव गरेको छ । प्रस्तावित बिज्ञहरुमा प्रा. डा. जीवेन्द्रदेव गिरी, तेजबहादुर ढकाल, केशव घिमिरे, गोबिन्द गौत्तम, धनराज सापकोटा, जीवनाथ पोख्रेल र केदार कोइराला हुनुहुन्छ ।

वडाको स्वास्थ्य सेवा, शिक्षा र शैक्षिक अवस्था सुधार, खानेपानी व्यवस्थापन, व्यक्तिको प्रतिव्यक्ति आय वृद्धि, वातावरणीय सुधार, शुशासन सेवा, युवा परिचालन, बालबिकास लगायत भौतिक र सामाजिक क्षेत्रमा आवश्यकता पहिचान गर्ने, योजना निर्माण गर्ने तथा बहुलाभका पक्ष पहिचान गर्ने काम विज्ञ समूहको हुनेछ । वडा अन्तर्गत रहेका बौद्धिक समूहसँग व्यापक छलफल गरि रणनीतिक योजना तर्जुमा गर्न बौद्धिक समूह गठन गर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ मा उल्लेख छ ।

वडाका बिशिष्टहरुको सुझाव

वडाले बौद्धिक समूह गठन आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रबाट सेवा निवृत्त पदाधिकारी, टोलसुधार समिति, उपभोक्ता समितिलगायत क्षेत्रगत रुपमा प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रम तालिका अनुसार दर्शकदीर्घामा रहनुहुने व्यक्तिलाई बोल्न दिने कार्यक्रम थिएन । जब वडाध्यक्ष नारायण भण्डारीले सम्पन्न कामको चर्चा गरेर बौद्धिक समूहको प्रस्तावित नाम उल्लेख गर्नुभयो त्यसपछि दर्शकबाट बोल्न पाउनु पर्ने माग आयो । पूर्वविशिष्टहरुसमेत रहेको दर्शकदीर्घाबाट माग आएपछि वडाध्यक्षले संक्षिप्तमा बोल्न आग्रह गर्दै अनुमति दिनुभयो ।

त्यसपछि पूर्व सहसचिव उद्धव तिमिल्सिना, महानगरका पूर्व प्रमुख तथा कार्यकारी अधिकृत सूर्यशरण रेग्मी, खुल्ला विश्वविद्यालयका डीन इन्द्र कार्कीलगायत १ दर्जन बढी व्यक्तिले वडाको समृद्धिका आवश्यकता र आफ्नो भूमिकाका विषयमा दृष्टिकोण राख्नुभयो । यस क्रममा कुकरको जमातले रातभरि सुत्न नदिएको, कुकरको दिशाले वातावरण प्रदुषित भएको, रुख विरुवाको अवस्थामा एकरुपता नभएको, जमिन किनेर त्यत्तिकै छोड्नाले अपराध बढेको, नागरिक दायित्व बढाउने काममा कमी भएको, राजनीतिक दलले सुकुम्बासी बस्तीलाई भोट बैङ्कका रुपमा जोगाएको जस्ता गुनासा राख्नुभएको थियो भने सबै मिलेर काम गरे समृद्धिमा पुग्न दिन नलाग्ने सम्भावना पनि देखाउनुभएको थियो ।

 

, , ,

तुलनात्मक लागत विश्लेषणपछि विद्युतीय सवारीको छनौट — मेयर शाक्य

चन्द्रमणि भट्टराई
मंसिर १३

काठमाडौंं । बिद्युतीय सवारी साधनलाई सार्वजनिक आवागमनका प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारिता गर्ने महातगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । बिहीबार सुन्दर यातायातका अधिकारीसँगको भेटका क्रममा मेयर शाक्यले भन्नुभयो — हामीसँग साझेदार बन्न चीनको बिवाइडि कम्पनीले इच्छा देखाएको छ । हामी अहिले त्यस कम्पनीबाट उत्पादित बसको मुल्य, हाम्रो खरिद गर्न सक्ने क्षमता, यसबाट हुने वातावरणीय तथा आवागमनमा पुग्ने लाभ, बस सञ्चालनका लागि हाम्रा पूर्वाधारका आधारमा सम्भावना हेरिरहेका छौं । भेटका क्रममा सुन्दर यातायातलाई विद्युतीय सवारी उपलब्ध गराउने चीनको बिएक कम्पनीका अधिकारी पनि सहभागी थिए ।

सुन्दर यातायातले अबको ६० दिनभित्र, ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका ३ वटा सार्वजनिक बिद्युतीय बस सञ्चालन तयारी गरेको छ । प्रा. लि. का कार्यकारी अध्यक्ष भेषबहादुर थापा भन्नुहुन्छ — हामीले काठमाडौंको सडक र बसको क्षमता जाँच गरिसकेका छौं । काठमाडौंको सोह्रखुट्टे उकालोमा चढ्न सक्ने र अहिले बौद्ध क्षेत्रमा भएको खाल्टाखुल्टीमा गुड्न सक्ने बस ल्याउन लागेका हौं । सरकारले बिद्युतीय बस सेवा सञ्चालनलाई प्राथमिकतामा राखेपछि हामी यस काममा अग्रसर भएका हौं, थापाले थप्नुभयो ।

भेटका क्रममा बिएक कम्पनीका प्रमुख कार्यकारी च्यानलिन लुओले भन्नुभयो — बिओडि कम्पनीका बसहरुभन्दा हाम्रो कम्पनीका बसहरु सस्ता र बलिया छन् हामी संसारभरिका सहरमा बस पठाइरहेका छौं । तिनीहरु जुन सहरमा पठाउने हो, त्यहाँको भूगोल र आवश्यकता अनुसारका बस तयार गरेर पठाउँछौं । विद्युतीय बस सेवा प्रवर्धन गर्न अहिले बिएकका प्रबन्धक, बजार व्यवस्थापक र अन्तरराष्ट्रिय व्यापार व्यवस्थापक नेपाल आएका छन् ।

,

चीनमा काठमाडौं महानगर अवार्डेड । “फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्ड लिएर मेयर उपमेयर फिर्ता ।।।

चन्द्रमणि भट्टराई

काठमाडौंं । काठमाडौं महानगर चीनको हुआन सहरमा “फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्डबाट सम्मानित भएको छ । हुआनमा नोभेम्बर १४ — १६ (कार्तिक २८—३०) सम्म आयोजना भएको “चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८” मा महानगर अवार्डबाट सम्मानित भएको हो । अवार्डका लागि तिब्बतको ल्हासा नगरले महानगरलाई शिफारिस गरेको थियो । उक्त सम्मेलनमा महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सहभागी हुनुहुन्थ्यो । उहाँहरु सम्मेलन सकेर शनिवार स्वदेश फर्कनुभएको छ । सो क्रममा उहाँहरुलाई संघीय संसद सदस्य रामवीर मानन्धर, महानगरका कार्यवाहक मेयर भरतलाल श्रेष्ठसँगै जनप्रतिनिधि र कर्मचारीहरुले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । हुआनमा सम्पन्न सम्मेलनमा चीनसँग भगिनी सम्बन्ध भएका ६० वटा अन्तरराष्ट्रियसहित ८०० नगरका प्रतिनिधिको सहभागिता थियो ।

स्वदेश फर्कने क्रममा विमानस्थलको विशिष्ट कक्षमा सम्मेलन र उपलब्धीका विषयमा मेयर शाक्यले अनुभव सुनाउनु भएको थियो । “ त्यहाँ पूर्व प्रधानमन्त्रीहरु पनि हुनुहुन्थ्यो । त्यहाँ अन्तरराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिको दृष्टिकोण बुझ्ने मौका पाइयो । आधुनिक र समृद्ध सहर निर्माणका लागि अन्तरराष्ट्रिय अभ्यासलाई हाम्रो परिवेशमा रुपान्तरण गर्ने हौसला मिलेको छ । हामीले छेन्दुलगायत अन्य विभिन्न नगरका प्रमुख र उपप्रमुखसँग आपसी सहयोगका कुरा गरेका छौं । हामीले सिकेका र जानेका कुरा महानगरबासीको हितमा उपयोग गर्छौ ।”

सम्मेलनमा सहभागिता जनाउन उहाँहरु गएको सोमबार चीन प्रस्थान गर्नुभएको थियो । “विकासका अवसर र आपसी साझा जीत — सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन” विषयमा केन्द्रीत सम्मेलन, चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसि), चाइना इन्टरनेशनल फ्रेन्डसिप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले आयोजना गरेका हुन् । जसमा युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट (युसिएलजि) का सदस्यहरुसमेत सहभागी थिए । आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलन प्रभावकारी रहेको मेयर शाक्यको अनुभव छ ।

 

, ,

बिगतमा महानगर एक्लैले सफाइ गर्दै थियो अब सामुहिक प्रयत्न थालियो

चन्द्रमणि भट्टराई
मंसिर ८

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिवार (आज) बाट सहरी सौन्दर्यता प्रवर्धन सघाउ कार्यक्रम शुरु गरेको छ । महानगरले कार्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर सौन्दर्यीकरण प्रवर्धनमा सहयोग गर्न आग्रह गरेको थियो । त्यसैबमोजिम आजबाट सडकको नालीमा बनाइएका अनावश्यक ¥याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर सफा गर्ने काम थालनी गरेको हो ।

शनिबार विहान कार्यक्रमको शुरुवात् गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — सामुहिक प्रयत्नबाट काठमाडौंको सुन्दरतामा निखार आउने विश्वाश व्यक्त गर्नुभयो । विगतमा महानगर एक्लैले काम गरिरहेको थियो । त्यसमा अब विकास साझेदार सबैको सहभागिता जुटेको छ । सरसफाइमा परिणाम प्राप्त हुने योे बलियो आधार हो । मेयर शाक्यको भनाइ थियो ।

रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको थियो । कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो । महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार यो कार्यक्रम हरेक शनिबार नियमित सञ्चालन हुनेछ ।

सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवर्धन गर्न, अव्यवस्थित रुपमा रहेका केवल, विद्युतका तार तथा पोलहरुको व्यवस्थापन गर्न, खानेपानीका पाइप व्यवस्थापन, डेव्रिज व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापन गर्न, सडक मर्मत तथा मार्किङ् जस्ता काम गर्दा महानगरलाई सूचना दिएर मात्र गर्नु पर्ने विषयमा विकासे अड्डाहरु सहमत भएका छन् । यस सहमतिबमोजिम अब काम जिम्मेवारी तोकिएका निकायले गर्नेछन् तर कामको जानकारी महानगरलाई गराउनु पर्नेछ ।

 

 

 

 

Pages